काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयले सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूह र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खातामाथि नेपाल सरकारले निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम कारबाही गर्न सचिवालयले आग्रह गरेको छ।सचिवालयले अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै कसैको धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा तथा सामाजिक सद्भावमाथि आघात पुर्याउने गतिविधिमा भने राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्नुपर्ने जनाएको छ। धार्मिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, वैज्ञानिक चेतना, सामाजिक न्याय र सहिष्णुताको रक्षा गर्दै घृणा, हिंसा तथा विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गर्नु आवश्यक रहेको उसको भनाइ छ।
पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी डा. भट्टराईलाई हिन्दूविरोधीका रूपमा चित्रित गर्ने प्रयास भइरहेको सचिवालयले जनाएको छ। पुराना भिडियो तथा अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरी तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको भन्दै उसले आपत्ति जनाएको छ।सचिवालयले धर्मनिरपेक्षवादी हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पारेको छ। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु रहेको उल्लेख गरिएको छ। त्यस्तै, विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएकाले यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित हुने जनाएको छ।
हिन्दू धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताबारे आलोचनात्मक बहस गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको पनि सचिवालयले जनाएको छ। सामाजिक न्याय र समानताका पक्षमा हुने बहसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्नु तथ्यलाई तोडमरोड गर्नु भएको उसको भनाइ छ।सचिवालयले डा. भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड तथा भ्रामक व्याख्यामार्फत प्रस्तुत गर्नु गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहार भएको जनाएको छ। धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्री पोस्ट गर्ने र योजनाबद्ध रूपमा भ्रामक भाष्य निर्माण गर्ने गतिविधिले व्यक्तिको सुरक्षा तथा प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामै गम्भीर असर पार्न सक्ने भन्दै यस्ता गतिविधिलाई सामान्य प्रचारबाजीका रूपमा नलिन पनि आग्रह गरिएको छ।