काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। सोमबार बिहान ६:२० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको राजदुवाली क्षेत्रमा झापा–ताप्लेजुङ सडकखण्डको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशमा सडकको जोखिम बढेपछि विभिन्न स्थानमा रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी र पासाङ ल्हामु सडकखण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यता, गण्डकी प्रदेशअन्तर्गत बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे–बेंसीसहर सडकखण्ड भने पहिरोका बाबजुद एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। कर्णाली प्रदेशमा रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रभावित सडकखण्डमा यात्रा गर्दा यात्रुले पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।