काठमाडौँ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूले देशमा बढ्दो असुरक्षा तथा बालिकामाथि भइरहेका बलात्कार र हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कडा आलोचना गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले बाराको ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने र बाल यौन हिंसासम्बन्धी मुद्दालाई फास्ट ट्रयाक अदालतमार्फत शीघ्र टुंग्याई दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने बताइन्। त्यस्तै, सांसद सोमनाथ पोर्तेलले पीडित परिवारलाई दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको आलोचना गर्दै नागरिकको पीडालाई ‘तमासा’ नबनाउन सरकारलाई आग्रह गरे। सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको उल्लेख गर्दै यस्ता घटनाले परिवार र समाजलाई गम्भीर रूपमा प्रभावित पारिरहेको बताइन्।