हेटौँडा । बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही प्रदेशसभा सदस्य काठमाडौं पुगेका छन्। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्तारुढ दलभित्रै असन्तुष्टि चर्किएपछि सरकारमाथि राजनीतिक दबाब बढेको छ। गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठलगायत सांसद पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न काठमाडौं पुगेका हुन्।
असन्तुष्ट सांसदहरूले बागमती प्रदेश सरकार गठनको प्रक्रिया, मन्त्रालय बाँडफाँट तथा पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाउँदै आफ्ना धारणा अध्यक्ष प्रचण्डसमक्ष राख्ने तयारी गरेका छन्। मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने कार्यसूची सोमबार दिउँसो १ बजेका लागि तय गरिएको भए पनि सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि बैठक पटक–पटक सारिएको थियो। अन्ततः विश्वासको मत लिने बैठक मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ।स्रोतका अनुसार असन्तुष्ट सांसदहरू सोमबार विश्वासको मतका लागि हेटौँडा नआएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको थियो। त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले उनीहरूलाई हेटौँडा पुगेर सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। तर असन्तुष्ट समूहले सरकार गठन प्रक्रियामै कमजोरी भएको भन्दै तत्काल विश्वासको मत दिन कठिन हुने धारणा राखेको बताइएको छ।
सोमबार दिनभर अध्यक्ष प्रचण्डले केही असन्तुष्ट सांसदसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरू सम्पर्कमा नआएको स्रोतको दाबी छ। विश्वासको मत लिने कार्यसूची मंगलबारसम्म सारिएपछि भने असन्तुष्ट सांसदहरू अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष छलफलमा जुटेका हुन्। उनीहरूको असन्तुष्टि समाधान गर्न नेतृत्वले पहल गरिरहेको भए पनि सहमति नजुटे बागमती प्रदेश सरकारको विश्वासको मत प्रक्रिया थप जटिल बन्न सक्ने देखिएको छ।