रसुवाको उत्तरगयामा बाढीको वितण्डा, हाइड्रोपावरका ‘हब’ बगायो

रसुवाको उत्तरगयामा बाढीको वितण्डा, हाइड्रोपावरका ‘हब’ बगायो

काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा बुधबार बिहान एक्कासि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण तटीय क्षेत्रमा व्यापक क्षति भएको भए पनि तत्कालै क्षतिको पूर्ण विवरण संकलन गर्न सक्ने अवस्था नरहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष टुकुप्रसाद सुवेदीले बताएका छन्। उनका अनुसार बाढी केही घटे पनि अवस्था अझै भयावह रहेको छ।

बाढीले खोलामा रहेका हाइड्रोपावरका ‘हब’हरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। उक्त क्षेत्रमा चारवटा हाइड्रोपावर रहेकामा तीनवटा निर्माण सम्पन्न भइसकेका छन्। बाढीका कारण हाइड्रोपावरमा कार्यरत केही मानिस हताहत भए/नभएको समेत यकिन हुन सकेको छैन। प्रभावित क्षेत्रमा केही मानिस देखिए पनि निरन्तर पहिरो जाने र बाढीको जोखिम रहेकाले तत्काल उद्धारका लागि पुग्न कठिन भएको सुवेदीले बताए।

यसैबीच, बाढी गाउँपालिकाको कार्यालय परिसरमा समेत पसेको छ। बाढीले त्यहाँ रहेका केही सवारीसाधन बगाएको भए पनि कार्यालय भवनमा भने अहिलेसम्म क्षति पुगेको छैन। स्थानीय तहले फोन सम्पर्क हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार