भोटेकोसी बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न नेकपाको आग्रह

भोटेकोसी बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न नेकपाको आग्रह

काठमाडौँ । तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै नेकपाले विपद्मा परेका नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्प परिचालन गरी प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालन गर्न आग्रह गरेको हो। साथै, कठिन परिस्थितिमा सङ्घ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर उद्धारमा जुट्न अपिल गरेको छ। नेकपाले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सहायतामा सक्रिय रूपमा खटिन विशेष निर्देशनसमेत दिएको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार