हचुवाका भरमा योजना छनोट हुँदैन : मन्त्री भाट

हचुवाका भरमा योजना छनोट हुँदैन : मन्त्री भाट

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले अब हचुवाका भरमा विकास योजना छनोट नगर्ने बताएका छन्। उनले आवश्यकता, सम्भाव्यता र परिणामका आधारमा मात्रै योजना तथा बजेट निर्माण गर्ने स्पष्ट पारेका छन्। भदौ ६ गते पदभार ग्रहण गरेपछि मन्त्री भाटले सडक, पुललगायत भौतिक पूर्वाधारका योजना छनोटदेखि कार्यान्वयनसम्मको शैली परिवर्तन गर्ने बताएका हुन्। राजनीतिक पहुँच, व्यक्तिगत आग्रह र हचुवाका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै विकासका योजनालाई परिणाममुखी बनाउने उनको भनाइ छ।

जिम्मेवारी सम्हालेकै दिन मन्त्री भाटले सडक सुरक्षा र लामो समयदेखि अलपत्र रहेका विकास आयोजनालाई प्राथमिकतामा राख्दै तीन महत्वपूर्ण निर्णय गरेका थिए। चिसापानी–गड्डाचौकी सडकखण्डमा सीसीटीभी तथा गति मापन प्रणाली जडान गर्ने, सडक सुरक्षाका लागि १४ दिनभित्र कार्ययोजना तयार गर्ने र प्रदेशभर अलपत्र रहेका बहुवर्षीय ठेक्काको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन समिति गठन गर्ने निर्णय उनले गरेका छन्। सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार कारबाहीको दायरामा ल्याउने उनले बताएका छन्। लामो समयदेखि काम रोकिएका तथा समयमै सम्पन्न हुन नसकेका आयोजनाको अवस्था अध्ययन गरी आवश्यक निर्णय लिने तयारीसमेत उनको छ।

मन्त्रालयका कर्मचारी तथा सचिवसँगको ब्रिफिङपछि मन्त्री भाटले आठबुँदे निर्देशन जारी गर्दै योजना छनोट र कार्यान्वयन प्रणालीलाई व्यवस्थित तथा परिणाममुखी बनाउन जोड दिएका छन्। उनले तराई, पहाड र हिमालको भौगोलिक अवस्थाअनुसार छुट्टाछुट्टै बजेट तथा कार्यान्वयन मापदण्ड बनाउन निर्देशन दिएका छन्। प्रदेश राजधानी निर्माण प्रक्रियालाई गति दिन आवश्यक प्रस्ताव तयार गर्ने, डिभिजन कार्यालय नभएका जिल्लामा कार्यालय स्थापनाको प्रस्ताव ल्याउने तथा मन्त्रालयको श्वेतपत्र जारी गर्ने योजना पनि उनले अघि सारेका छन्।

मन्त्री भाटले प्रोजेक्ट बैंकलाई आयोजना छनोटको मुख्य आधार बनाउने नीति अघि सारेका छन्। हजारौँ साना तथा छरिएका योजनामा स्रोत बाँडफाँट गर्नुको सट्टा रणनीतिक महत्त्वका ठूला योजनामा बजेट केन्द्रित गर्ने उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पूर्ण बजेट अझै आउन नसकेको अवस्थामा नीति आयोगले पूर्णता पाएपछि नयाँ बजेट ल्याउने तयारी भइरहेको छ। सोहीअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना छनोट र प्राथमिकताका विषयमा गृहकार्य गरिरहेको मन्त्री भाटले बताएका छन्।

‘विगतमा हचुवाको भरमा बजेट हालियो, जसले गर्दा थुप्रै योजना अलपत्र परे। अब त्यस्तो हुँदैन। सडक बनाउनुअघि त्यसको आवश्यकता र फाइदाबारे सूक्ष्म अध्ययन हुन्छ। हामी समस्या पहिचान गर्छौँ, योजना बनाउँछौँ र परिणाम दिन्छौँ,’ मन्त्री भाटले भने।

सुदूरपश्चिममा पछिल्ला वर्षहरूमा बज

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार