काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा बाढीबाट भएको जनधनको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायत प्रमुख दलका शीर्ष नेताहरू सहभागी छन्। सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा जारी बैठकमा बुधबार तिब्बततर्फबाट आएको बाढीका कारण भएको क्षति, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ। बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ भने खोज तथा उद्धार कार्य जारी छ। बैठकमा तत्कालीन उद्धार र राहतसँगै भविष्यमा आउन सक्ने सम्भावित विपद् रोकथामका लागि पूर्वतयारी तथा दीर्घकालीन नीति निर्माणमा सरकारसँग सहकार्य गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।