• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

बाढीमा बेपत्ता आफन्त खोज्दै भरतपुर अस्पतालको शवगृह पुगे परिवार

बाढीमा बेपत्ता आफन्त खोज्दै भरतपुर अस्पतालको शवगृह पुगे परिवार

चितवन । रसुवाबाट आएको बाढीमा परेर बेपत्ता भएका दुई युवकको खोजीमा परिवारका सदस्य तथा आफन्तहरू बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको शवगृहबाहिर जम्मा भएका छन्। भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा हातमा माधव न्यौपाने र सबिन न्यौपानेको फोटो बोकेर अस्पताल पुगेका हुन्। माधव र सबिन नातामा लीलावतीका भाइ हुन्।

ठाकुरका अनुसार माधव चीन–नेपालबीच सामान आयात–निर्यातको काममा संलग्न थिए भने सबिन बैंकमा कार्यरत थिए। रसुवाबाट बगेर आएका शव चितवनमा भेटिन सक्ने आशामा उनीहरू भरतपुर अस्पताल पुगेका हुन्। अस्पतालमा संकलन गरेर ल्याइएका शवहरू हेरे पनि आफूहरूले खोजिरहेका माधव र सबिन भने भेटिएनन्।ठाकुरले केही शवको अवस्था निकै विक्षिप्त रहेको बताए। ‘केही शवको टाउको नै छैन। केही शव चिनियाँ नागरिकजस्तो देखिन्छ,’ उनले भने। आफ्ना आफन्तको खोजीमा अस्पताल पुगेका उनीहरूले अहिलेसम्म कुनै पत्ता नलागेको बताए।

भरतपुर अस्पतालको शवगृहबाहिर अन्य बेपत्ता व्यक्तिका परिवार र आफन्तहरू पनि फोटो बोकेर पुगेका छन्। उनीहरू मोबाइल तथा प्रिन्ट गरिएका तस्बिरका आधारमा संकलित शवमध्ये आफ्ना आफन्तको पहिचान गर्ने प्रयास गरिरहेका छन्। बाढीमा बेपत्ता भएका आफन्तको अवस्था पत्ता लाग्ने आशामा उनीहरू अस्पतालबाहिर कुरिरहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार