काठमाडौं । रसुवा बाढीबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहहरूमार्फत संकलन तथा अद्यावधिक गरिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकले प्रभावित स्थानीय तहका कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्नेछन्। त्यस्तै, नापी विभागले प्रभावित क्षेत्रका निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन गर्नुका साथै विपद् नक्सांकनको कार्य गर्नेछ।
नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लाहरू प्रभावित भएका छन्।