धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।
मन्त्री भाटका अनुसार मुख्यमन्त्री खगराज भट्टसहित प्रदेशका सबै मन्त्रीले पारिश्रमिकबापत प्राप्त गर्ने एक महिनाको रकमसमेत बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले घोषणा गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । साथै, बाढी प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मीको टोली पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
शुक्रबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, नेकपा एमालेका तर्फबाट नीति तथा योजना आयोगको सदस्यमा हिरा चन्द र गंगादत्त जोशीलाई नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।