काठमाडौँ । तिब्बतबाट नेपालमा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत प्रयासबारे भारतमा उच्चस्तरीय छलफल भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपालमा भइरहेका उद्धार तथा राहत कार्यबारे समीक्षा गरिएको जानकारी दिएका छन्। उनका अनुसार काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासले नेपाल तथा चीनमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएका छन्। साथै, भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने विषयमा पनि जानकारी गराएको जयशंकरले बताएका छन्। उनले रसुवा बाढी तथा त्यसबाट प्रभावित भारतीय नागरिकको विषयलाई भारत सरकारले ‘उच्चतम प्राथमिकता’ दिएको स्पष्ट पारेका छन्।
नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढी र पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् भने भारतीय नागरिकसमेत प्रभावित भएका छन्। भारतले यसअघि नै नेपालमा राहत सामग्री पठाउनुका साथै उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। भारतीय पक्षले नेपालमा रहेका आफ्ना नागरिकको उद्धार, सुरक्षा र अवस्थाबारे निरन्तर जानकारी संकलन तथा समन्वय गरिरहेको जनाएको छ।