मन्थली । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम फैलाएर ठगी गरेको आरोपमा रामेछाप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर, अनुसन्धानका क्रममा उनले उक्त रकम सहयोग नगरेको र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी ई–सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको खुलेको प्रहरीले जनाएको छ।
कार्कीले नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत क्यूआर कोडसमेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई राहत कोषमा सहयोग गर्न आह्वान गर्दै आएका थिए। मानिसहरूले राहत कोषमा रकम पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउन सक्ने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।