भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, भारत–चीनसहित अन्तर्राष्ट्रिय सहयोग जुट्दै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, भारत–चीनसहित अन्तर्राष्ट्रिय सहयोग जुट्दै

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले सहयोग गरिरहेका छन्। भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति नेपाल पठाएका छन्।बाढीबाट तल्लो तटीय क्षेत्रमा रहेका आवासीय क्षेत्र, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित राज्यका विभिन्न निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन्। पछिल्लो जानकारीअनुसार शनिबार साँझसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ।भारतले राहत तथा उद्धार सामग्रीसहित विशेष प्राविधिक टोली नेपाल पठाएको छ। भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको उडान आइतबार बिहान काठमाडौँ अवतरण गरेको छ। उक्त सामग्रीमा खोज तथा उद्धारका उपकरण, कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटलगायत छन्। साथै, १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली तथा मृतकका अवशेष पहिचानका लागि १९ सदस्यीय फरेन्सिक विज्ञ टोली नेपाल आएको छ।

यसअघि भारतले भारतीय वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव ५ टन राहत सामग्री ल्याइसकेको छ। बाढी आएको बुधबार नै अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधिसहित १० टन आकस्मिक राहत सामग्री नेपाल ल्याइएको थियो। त्यसको भोलिपल्ट थप ३७ दशमलव ५ टन राहत सामग्री पठाइएको थियो भने शुक्रबार सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र चिकित्सा टोलीसहित थप १० टन सामग्री नेपाल ल्याइएको थियो।चीनले पनि बाढी प्रभावितका लागि ठूलो मात्रामा आपत्कालीन राहत सामग्री पठाएको छ। आइतबार बिहान चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमानमार्फत ५० टन राहत सामग्री काठमाडौँ ल्याइएको छ। ती विमानमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान आपत्कालीन सामग्री छन्। चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत उद्धार उपकरणसहित नेपाल आएका छन्।भारत र चीनका सुरुङ उद्धार टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी खटिएका छन्। प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिस फसेको आशंकामा नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार प्रयास जारी राखेका छन्।उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्। भारतीय तथा चिनियाँ विशेषज्ञले समेत नेपाली सेनासँगको समन्वयमा उद्धार कार्यमा प्राविधिक सहयोग गरिरहेका छन्।

यसैबीच, बाढी प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ। एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका रूपमा ५ मिलियन अमेरिकी डलर तथा प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विश्व बैंकले १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारले १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।बाढीबाट भएको मानवीय क्षतिको विवरण पनि भयावह देखिएको छ। हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ।सरकारले ‘पहिचान नभएका तथा शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। पहिचान हुन नसकेका शवको डीएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखिने जनाइएको छ। परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया जारी रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार