काठमाडौँ । भोटेकोसीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितका अनुसार फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्र सनाखत भएको छ। नारायणी नदी किनारमा ५२ वटा मानव अङ्गसमेत फेला परेका छन्। खुट्टा, हात, तिघ्रा तथा केही व्यक्तिको टाउको मात्र फेला परेको प्रहरीले जनाएको छ।
शव व्यवस्थापनमा समस्या भएपछि स्थानीय प्रशासनले ट्याग लगाएर १०० वटा शव गाडेर व्यवस्थापन गरिरहेको छ। हालसम्म सनाखत भएकामध्ये नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का यादव भण्डारी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ का उद्धव खड्का, धादिङको खनियाँबासका सन्जोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर थापा, हेटौँडा–१५ का सुमन गोले र नुवाकोटको विदुर नगरपालिका–७ की शारदा ढकाल रहेका छन्।
त्यस्तै, गोरखाको पालुङटार नगरपालिका–५ की कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ का विमल काफ्ले र गोरखाको पालुङटारकी सुजाता कौरालको पनि शव सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पण्डितले जानकारी दिएका छन्।