केरुङमा पहिरोले बनाएको अवरोध–ताल प्राकृतिक रूपमा खाली, १६ जनाको मृत्यु

केरुङमा पहिरोले बनाएको अवरोध–ताल प्राकृतिक रूपमा खाली, १६ जनाको मृत्यु

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको जिरोङ काउन्टीमा पहिरोका कारण बनेको अवरोध–ताल पूर्ण रूपमा खाली भएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार तालमा जम्मा भएको पानी प्राकृतिक रूपमा बगेर बाहिरिएको हो। नेपालतर्फको छोचेन खोला र चीनतर्फको पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोले नदी थुनेपछि उक्त अवरोध–ताल बनेको थियो।

बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। त्यतिबेलासम्म तालबाट पानी बाहिरिनसमेत सुरु भइसकेको थियो। मन्त्रालयले पठाएको जलविज्ञानसम्बन्धी आपत्कालीन अनुगमन टोलीको पछिल्लो विवरण उद्धृत गर्दै चीनको सरकारी टेलिभिजन सीसीटीभीले शनिबार तालबाट अहिले सामान्य प्राकृतिक प्रक्रियाअनुसार पानी बाहिरिरहेको र जम्मा भएको पानी लगभग पूर्ण रूपमा खाली भइसकेको जनाएको छ।

यसैबीच, चीन–नेपाल सीमामा रहेको केरुङ बन्दरगाह क्षेत्रमा बुधबार गएको भीषण पहिरोमा परी शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको छ। तिब्बतको आपत्कालीन व्यवस्थापन विभागका अनुसार घटनामा अझै ५४६ जना बेपत्ता छन्। बेपत्ता रहेकामध्ये २६१ जना विदेशी नागरिक रहेको विभागले जनाएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले घटनामा थप मानवीय क्षति हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार