रवि लामिछाने र बागमतीका मुख्यमन्त्रीबीच भेटवार्ता, तीन तहका समन्वयबारे छलफल

रवि लामिछाने र बागमतीका मुख्यमन्त्रीबीच भेटवार्ता, तीन तहका समन्वयबारे छलफल

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री थापा मगरले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताएका छन् । उनले यसका कारण प्रदेश सरकारले आफ्नै ढंगले काम गरिरहेको जानकारी गराउँदै प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकोमा दुःख व्यक्त गरे ।

तीन तहका सरकारले कुन–कुन काम गर्ने भन्ने स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको बताउँदै मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्‍याउन असहज भएको बताए । जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले खोलाका किनारमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीन तहका सरकारले तत्काल समन्वयकारी ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्नेमा जोड दिए । ‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,’ उनले भने । साथै, संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार