काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। १११ मेगावाट क्षमताको उक्त आयोजनामा गत भदौ १० गते बिहान आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली परिचालन गरी हवाई रेकीसहित खोजी कार्य भइरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी रहेका छन्। त्यस्तै, आयोजनाको निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना कर्मचारी पनि सम्पर्कविहीन छन्।
बाढीका क्रममा आयोजनाको भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना भने दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। बाहिर निस्कन सफल चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। बाँकी सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय, प्राविधिक र विज्ञ टोलीले विभिन्न माध्यमबाट खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।