काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन्। बाढीमा परी क्याम्प क्षेत्रका घरहरू बगेका नभई ठूलो मात्रामा आएको लेदोले पुरिएको र त्यहीभित्र आयोजनाका कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्यहरू रहेको प्रत्यक्षदर्शी कर्मचारीहरूले बताएका छन्।बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीका अनुसार क्याम्प क्षेत्रमा रहेका घरहरू लेदो र माटोले पुरिएका छन्। ती घरभित्र आयोजनाका उच्च पदस्थ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, कर्मचारीका परिवार तथा साना बालबालिकासमेत रहेको बताइएको छ। पुरिएका व्यक्तिहरूको उद्धारमा अझै सम्भावना रहेको भन्दै ढिलाइ नगरी आधुनिक उपकरणसहित तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
सम्पर्कविहीन ४३ जनामध्ये आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका सदस्य सात जना, चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी ११ जना र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि गएका तीन जना विद्यार्थी रहेका छन्। सम्पर्कविहीन हुनेमा आयोजनाका प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा तथा विभिन्न तहमा कार्यरत इन्जिनियर, प्रशासनिक कर्मचारी, चालक र सुरक्षाकर्मीहरू छन्।त्यस्तै, कर्मचारीका परिवारतर्फ साढे तीन वर्षका आदित्य पौडेल शर्मा र आदिश्री पौडेल शर्मा, साढे दुई वर्षका शिवांश पौडेल र त्रिशा पौडेल तथा दुई वर्षकी कियान्शा अधिकारीसहित सात जना सम्पर्कविहीन रहेको जनाइएको छ। चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेजका वरिष्ठ टोली नेता, इन्जिनियर, भूगर्भविद्, प्रशासन तथा लेखा अधिकृत, चालक र भान्से टोलीका सदस्यहरू पनि सम्पर्कविहीन छन्।
काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि अपर त्रिशूली–३ ‘बी’ आयोजनामा पुगेका सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरीसमेत सम्पर्कविहीनको सूचीमा छन्। उनीहरूको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।सम्पर्कविहीन व्यक्तिहरू पुरिएको हुनसक्ने स्थानमा तत्काल भारी उपकरण, लेदो तथा माटो हटाउने मेसिन, खोज तथा उद्धार प्रविधि र दक्ष प्राविधिक जनशक्ति परिचालन गर्न माग गरिएको छ। जीवित व्यक्तिको उद्धारको सम्भावना कायम रहेकाले समय खेर नफाली नेपाली सेना, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित आयोजनाको समन्वयमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ।