काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएपछि काठमाडौं उपत्यका र देशका अन्य भागबीचको यातायात प्रभावित भएको छ । काठमाडौंँबाट पृथ्वी राजमार्ग हुँदै जाने सवारीसाधन कलंकीमै रोकिएका छन् भने सडक आसपासका होटल तथा पसलहरूमा समेत चहलपहल घटेको छ । राजधानीलाई देशका अन्य भाग तथा बाह्य बजारसँग जोड्ने मुख्य ‘लाइफलाइन’ मानिएको काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।
सडक विभागले कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आइतबार प्राविधिक टोलीले उक्त क्षेत्रमा पुगेर सूक्ष्म अध्ययन गरिरहेको छ । प्राविधिक टोलीको सुझावका आधारमा सडक पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाइनेछ । जटिल भूगोल र नदीले सडकको तल्लो भागमा गरिरहेको कटानका कारण जोखिम मूल्यांकन गरेर मात्रै सडक सञ्चालनबारे निर्णय गरिने विभागले जनाएको छ ।
मुख्य ढुवानी मार्ग नै अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ । बाढी तथा पहिरोका कारण मुख्य सडकमार्ग अवरुद्ध भइरहेका बेला कालीमाटी फलफूल तथा तरकारी बजारमा समेत आपूर्ति व्यवस्थामा असर पर्न सक्ने देखिएको छ । सडक लामो समयसम्म सञ्चालनमा आउन नसके ढुवानी लागत बढ्नुका साथै तरकारी तथा अन्य उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने जोखिम रहेको छ ।