पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप अत्यधिक

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप अत्यधिक

काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा सडक कटान भएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो तथा वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।पृथ्वी राजमार्ग बन्द भएपछि साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गतर्फ मोडिएका छन् । हेटौँडाबाट भैँसे, टिकाभैरव र भैँसेपाटी हुँदै ललितपुरको एकान्तकुना जोड्ने कान्ति राजमार्गमा अहिले सवारी साधनको लामो लस्कर देखिएको छ । सडकमा चाप बढे पनि सवारी आवागमन भने निरन्तर सञ्चालनमा रहेको सडक योजनाले जनाएको छ ।

त्रिशूली नदीको बाढीले कृष्णभिर र परेवाभिर क्षेत्रमा सडकको जग नै कटान गर्नुका साथै माथिबाट पहिरो खसेपछि पृथ्वी राजमार्गमा यातायात सेवा ठप्प भएको हो । अवरुद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिएको भए पनि तत्कालै सडक खुल्ने सम्भावना कम रहेको जनाइएको छ ।सडक विभागले कान्ति राजमार्गसँगै त्रिभुवन राजपथ, बीपी राजमार्ग र हेटौँडा–कुलेखानी–फर्पिङ मार्गलाई पनि वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन राजपथ वीरगन्ज–हेटौँडा–पालुङ–नौबिसे हुँदै कलंकी जोडिन्छ भने बीपी राजमार्ग बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिखेल हुँदै काठमाडौँ पुग्छ । त्यस्तै, हेटौँडा–कुलेखानी–फर्पिङ मार्ग कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ जोडिन्छ ।

वैकल्पिक सडकहरूमा समेत सवारी चाप बढेकाले सडक विभागले चालकहरूलाई संयमित भएर सवारी चलाउन आग्रह गरेको छ । वर्षायाममा ग्रामीण तथा पहाडी सडकहरूमा पहिरोको जोखिमसमेत हुने भएकाले यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सडकको अवस्था र ट्राफिक प्रहरीको पछिल्लो सूचना लिएर मात्र गन्तव्यतर्फ जान विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार