विपद्को अवस्थाबारे छलफल गर्न संसद् तत्काल बोलाउन कांग्रेसको माग

विपद्को अवस्थाबारे छलफल गर्न संसद् तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ। सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। जिल्लादेखि गाउँ–गाउँसम्म रहेका बेपत्ताका घटनाहरू सांसदमार्फत संसद्मा उठाएर त्यसको समाधानका उपाय खोज्न संसद् सञ्चालन आवश्यक रहेको उनको भनाइ छ।

बैठकले राहत कार्यमा सहयोग पुर्‍याउन कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ। साथै, प्रभावित क्षेत्रमा अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरिएको छ। कांग्रेस सचेतक निष्कल राईले वास्तविक पीडित तथा आवश्यक परेका मानिसले राहत पाउन नसकेको भन्दै राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताए। सरकारले अघि सारेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको उनको भनाइ छ।

राईले शव व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल विषय भए पनि आवश्यक उपकरणको अभाव रहेको उल्लेख गरे। पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राख्दै सुरक्षित तथा मर्यादित रूपमा शव व्यवस्थापन गर्न विज्ञहरूसँग सल्लाह लिएर अघि बढ्न सरकारसँग आग्रह गरिने उनले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार