• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

चार महिनामै संकटमा श्रम संस्कृति पार्टीको एकता, सुदन किराती समूहलाई केन्द्रीय समिति बैठकमै बोलाइएन

चार महिनामै संकटमा श्रम संस्कृति पार्टीको एकता, सुदन किराती समूहलाई केन्द्रीय समिति बैठकमै बोलाइएन

काठमाडौं । श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरातीले गरेको एकता चार महिनामै संकटमा परेको छ । आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा किराती समूहलाई खबर नै नगरिएपछि दुई पक्षबीचको आन्तरिक खटपट सतहमा आएको हो ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किरातीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा समेत प्रस्तुत गर्दै आएका थिए । तर, पछिल्लो समय साम्पाङको कार्यशैलीप्रति किराती पक्ष असन्तुष्ट बन्दै गएको बताइएको छ । साम्पाङले करिब चार महिनासम्म पार्टीको बैठक नबोलाई सामाजिक सञ्जाल, विशेषगरी फेसबुक स्टाटसमार्फत पार्टी गतिविधि सञ्चालन गर्दै आएको आरोप पनि लाग्दै आएको छ ।

आज केन्द्रीय समिति बैठक बोलाए पनि अध्यक्ष साम्पाङले पार्टीका वरिष्ठ नेता सुदन किरातीलाई बैठकबारे जानकारीसमेत नगराएको किराती पक्षको दाबी छ । पछिल्लो समय साम्पाङ र किरातीबीच सामान्य संवादसमेत हुन छाडेको बताइएको छ । बैठकमा आफूहरूलाई नबोलाइएपछि पार्टी एकतामै दरार उत्पन्न भएको किराती समूहका एक नेताले बताएका छन् ।किराती पक्षका ती नेताका अनुसार घटनालाई सुदन किरातीले गम्भीर रूपमा लिएका छन् । आगामी रणनीति तय गर्न किरातीले आज बिहान ११ बजे आफ्नै समूहको बैठक बोलाएको बताइएको छ । उनका अनुसार पार्टी नेतृत्वको पछिल्लो व्यवहारले कार्यकर्तामाझ पार्टी विभाजन हुन सक्ने चिन्ता बढेको छ ।

‘अध्यक्षज्यूले नै पार्टीलाई विभाजनतर्फ लैजानुभयो भन्ने आम कार्यकर्तामा चिन्ता देखिएको छ । गत चुनावपछि श्रम संस्कृतिमा देखिएको जनसमर्थन नेतृत्वको यस किसिमको व्यवहारले कमजोर हुने जोखिम बढेको छ । त्यसका बाबजुद हाम्रोतर्फबाट पार्टी एकता जोगाउन सक्दो प्रयास हुनेछ,’ किराती पक्षका ती नेताले भने ।यता, श्रम संस्कृति पार्टीका केही नेताहरूले भने आजको केन्द्रीय समिति बैठकले सुदन किराती समूहसँग भएको पार्टी एकतालाई अनुमोदन गर्ने र भोलि ४१ सदस्यीय पूर्ण केन्द्रीय समितिको बैठक बस्ने बताएका छन् । तर, यस विषयमा अध्यक्ष साम्पाङले आफूसँग कुनै परामर्श नगरेकाले किराती पक्ष अझै आश्वस्त हुन नसकेको बुझिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार