• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

भोटेकोशी बाढीको क्षति मूल्याङ्कन गरी पुनर्निर्माणको योजना बनाउन सरकारलाई अध्यक्ष दाहालको आग्रह

भोटेकोशी बाढीको क्षति मूल्याङ्कन गरी पुनर्निर्माणको योजना बनाउन सरकारलाई अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको वस्तुगत मूल्याङ्कन गरी राहत, पुनर्स्थापना, पुनर्निर्माण र क्षतिपूर्तिका लागि स्पष्ट कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढीबाट भएको क्षति मानवीय संकटमा मात्र सीमित नभई आवास, सडक, पुल, विद्युत्, खानेपानी र स्वास्थ्यजस्ता अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर परेको बताए। उनले क्षतिको यथार्थ तथा क्षेत्रगत मूल्याङ्कनका लागि ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’ लगायतका प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गर्दै क्षतिको आधारमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले स्पष्ट कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए। विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले हिमाली तथा नदी तटीय क्षेत्रमा अन्तरदेशीय सूचना आदानप्रदान प्रणालीको संयन्त्र निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे। जोखिम नक्साङ्कन र सुरक्षित बस्ती विकासका लागि तत्कालीन तथा दीर्घकालीन रणनीति अपनाउन पनि उनले सरकारलाई सुझाव दिए। केही दिनअघि कम्बोडियाको फ्नोम पेनमा सम्पन्न दोस्रो अन्तरव्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलनमा आफूले नेपालको विनाशकारी बाढी तथा जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको जानकारी दिँदै अध्यक्ष दाहालले जलवायु परिवर्तनमा न्यून भूमिका भए पनि नेपालजस्ता राष्ट्रहरू अरूका कारण सिर्जित संकटबाट पीडित भइरहेकाले त्यस्ता राष्ट्रका लागि विशेष अन्तर्राष्ट्रिय कोषको व्यवस्था गर्न विश्व समुदायसँग अपिल गरेको बताए। विपद्को समयमा प्रशासनिक सीमा र राजनीतिक आस्थाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै उनले विपत्तिविरुद्ध लड्न पार्टी संगठनभन्दा माथि उठेर ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गर्न सरकारको ध्यानाकर्षण गराए। साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप सुदृढ गर्दै उद्धार, राहत तथा पुनर्निर्माणमा एकीकृत रूपमा जुट्न उनले अपिल गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार