• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

भोटेकोशी बाढीपछि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनबारे छलफल

भोटेकोशी बाढीपछि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै दीर्घकालीन रूपमा जोखिम न्यूनीकरण गर्ने उपायबारे पनि बैठकमा छलफल भइरहेको छ ।

यसअघि भदौ १० गते भोटेकोशीमा आएको बाढीपहिरोलगत्तै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो । उक्त साझा सङ्कल्पको बुँदा नम्बर १० मा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो तथा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरिएको थियो ।

सोही साझा सङ्कल्पअनुसार सरकारका विपद्सम्बन्धी कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । अहिलेको बैठकले उक्त संयन्त्र गठनको प्रक्रिया अघि बढाउने तथा विपद्पछिको पुनर्निर्माण र भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरणका लागि आवश्यक कदम तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार