• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

बाढीपीडित नेपाललाई जापानको सहयोग, प्रधानमन्त्री ताकाइचीले बालेनसँग फोन संवाद गरिन्

बाढीपीडित नेपाललाई जापानको सहयोग, प्रधानमन्त्री ताकाइचीले बालेनसँग फोन संवाद गरिन्

काठमाडौं। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग फोन संवाद गर्दै नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा मृतकका परिवार र विपद्बाट प्रभावित सबैप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छन्।ताकाइचीले सामाजिक सञ्जालमार्फत अपराह्न ४ः१५ बजे प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी भएको जानकारी दिएकी हुन्। कुराकानीका क्रममा उनले जापानमा पनि कुमामोतो भूकम्प तथा कीर्तिमानी भारी वर्षाका कारण विभिन्न स्थानमा लगातार विपद् आएको स्मरण गर्दै नेपालले अहिले भोगिरहेको कठिनाइप्रति आफू निकै दुःखी भएको बताएकी छन्।

बाढीपछि सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको शीघ्र खोजी तथा उद्धारका लागि ताकाइचीले नेपाल सरकारसँग पुनः सहयोगको आग्रह गरेकी छन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराएको ताकाइचीले बताएकी छन्। जापान सरकारले पनि आफ्ना नागरिकको अवस्था पत्ता लगाउन उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको उनले उल्लेख गरेकी छन्।नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै जापानले बाढीबाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्न पाल, कम्बललगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। ताकाइचीका अनुसार ती सामग्री जापानभित्रका विपद् व्यवस्थापनका लागि राखिएको भण्डारबाट नभई विदेशमा आपत्कालीन सहायता उपलब्ध गराउन जापान सरकारले छुट्टै राखेको भण्डारबाट उपलब्ध गराइनेछ।

यसैगरी, जापानले अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय आपत्कालीन सहायता टोली नेपाल पठाउनेलगायतका उपायमार्फत थप सहयोग गर्ने तयारी गरिरहेको छ। ताकाइचीले एसियाली मित्रका रूपमा नेपाललाई जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठकै दिन भएको फोन संवादलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। ताकाइचीले प्रधानमन्त्री शाहसँग मिलेर आगामी दिनमा नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।गत बुधबार नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघिसकेको छ भने ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेको समाचारमा उल्लेख छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार