असंलग्न आन्दोलनलाई पुनर्जीवित बनाउन नेपालद्वारा साझा पहलको आह्वान

असंलग्न आन्दोलनलाई पुनर्जीवित बनाउन नेपालद्वारा साझा पहलको आह्वान

काठमाडौँ । असंलग्न राष्ट्रहरूका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा सर्बियाको बेलग्रेडमा आयोजित उच्चस्तरीय बैठकमा नेपालले सहभागिता जनाएको छ। बैठकलाई परराष्ट्र मन्त्रालयका सहसचिव एवं नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णप्रसाद ढकालले सम्बोधन गर्दै जटिल बन्दै गएको तथा बहुविध सङ्कटको सामना गरिरहेको विश्वलाई सही दिशा दिन असंलग्न आन्दोलन (नाम) महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने बताएका छन्।सहसचिव ढकालले विश्वमा पुनः द्वन्द्व, तनाव, ध्रुवीकरण र विभाजन बढ्दै गएकाले असंलग्न आन्दोलनलाई समयानुकूल रूपमा नवीकरण र पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन्। उनले हतियारको होडबाजी, आर्थिक असमानता, डिजिटल विभाजनलगायत विश्वव्यापी चुनौती समाधान गर्न नेपालले असंलग्न आन्दोलनलाई महत्वपूर्ण मञ्चका रूपमा लिँदै आएको बताए।

न्यायपूर्ण, दिगो तथा शान्तिपूर्ण विश्व निर्माणका लागि असंलग्न आन्दोलनका सिद्धान्तमा एकताबद्ध हुँदै बहुपक्षीयता र अन्तर्राष्ट्रिय विधिको सम्मान तथा सुदृढीकरणका लागि ठोस र साझा कदम चाल्न सहसचिव ढकालले सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन्। बैठकमा विभिन्न सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो।बैठकका क्रममा सर्बियाका विदेशमन्त्री मार्को जुरिकले नेपालमा हालै आएको बाढीप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन्। उनले बाढीबाट प्रभावित परिवार तथा प्राकृतिक विपद्बाट पीडित नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका हुन्।

यसैबीच, सहसचिव ढकालले अङ्गोलाका बाह्य सम्बन्धमन्त्री तेते एन्टोनियोसँग भेट गरी द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल गरेका छन्। उनले साउदी अरेबियाका परराष्ट्र उपमन्त्री इन्जिनियर वालिद ए. एम. अलखेरेइजीसँग पनि भेटवार्ता गरी आपसी हितका विषयमा विचार आदानप्रदान गरेका छन्।त्यसैगरी, ढकालले सर्बियाका कृषि, वन तथा जल व्यवस्थापन मन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज सिभिजानोभिकसँग भेट गर्दै कृषि तथा वन क्षेत्रमा नेपाल–सर्बिया सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। यसअघि उनले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिचले आयोजना गरेको आधिकारिक रात्रिभोजमा सहभागिता जनाएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार