काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले पाँचौँ खेपको सहायता नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।
यसअघि भारतले १४ भदौमा बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो। भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। भारतसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूले बाढी प्रभावितका लागि आवश्यक सामग्री, उपकरण र प्राविधिक सहयोग उपलब्ध गराइरहेका छन्।