बाढीपीडितले कागजात गुमाए पनि बैंकिङ सेवा लिन पाउने

बाढीपीडितले कागजात गुमाए पनि बैंकिङ सेवा लिन पाउने

काठमाडौँ । गत बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै बैंकका शाखासमेत बगाएको छ। बाढीका कारण कतिपय बस्ती नै बग्दा प्रभावित नागरिकको लगाउने कपडाबाहेक अन्य सम्पत्ति नरहेको अवस्था छ। यस्तो विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, एटीएम/डेबिट कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले अब पनि बैंकिङ सेवा लिन पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बाढी प्रभावित ग्राहकको बैंकमा सुरक्षित रहेको ग्राहक पहिचान विवरण (केवाईसी), हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा पहिचान पुष्टि गरी वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकले प्राकृतिक विपत्तिबाट प्रभावित भई आवश्यक बैंकिङ कागजात गुमाएका ग्राहकलाई सेवा प्राप्त गर्न सहज हुने व्यवस्था मिलाउन तथा आवश्यक सहयोग र सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार