• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

नुवाकोट बाढीमा १७७ शव फेला, अब उत्खननमार्फत खोजी गरिँदै

नुवाकोट बाढीमा १७७ शव फेला, अब उत्खननमार्फत खोजी गरिँदै

नुवाकोटमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव खोज तथा सङ्कलनको प्रारम्भिक चरण पूरा भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार हालसम्म जमिनको सतहमा रहेका १७७ जनाको शव फेला परेको छ। तीमध्ये १६ जनाको पहिचान गरी सम्बन्धित परिवारलाई बुझाइएको छ भने पहिचान हुन बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। नेपाल प्रहरीले ड्रोन क्यामेरा र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै जिल्लाका विभिन्न ३० स्थानलाई आधार बनाएर खोजी गरेको थियो। शव व्यवस्थापनमा नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत सहयोग गर्दै आएका छन्। सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरबाट मात्रै एकै स्थानमा २१ जनाको शव फेला परेको थियो। बाढी प्रभावित बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटलगायत क्षेत्रमा घर तथा सडकमा थुप्रिएको गेग्रान र लेदो हटाउने काम भइरहेको छ। जमिनको सतह तथा घरभित्र देखिने अवस्थामा रहेका शव सङ्कलनको पहिलो चरण पूरा भएपछि प्रहरीले अब उत्खनन तथा खानतलासीमार्फत पुरिएका शवको खोजी सुरु गरेको जनाएको छ। प्रहरीले कतै शव देखिएमा वा शङ्कास्पद स्थान फेला परेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार