काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको निवासमा पुगेर परिवारजनसँग भेट गरेका हुन् । सो अवसरमा उनले बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेट गरी सहानुभूति व्यक्त गरे । महानिरीक्षक पौडेलले आशिष पौडेललगायत बेपत्ता सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी गराए । रसुवा बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।