• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

बाढीले ६६९ मेगावाटका १२ जलविद्युत् आयोजना प्रभावित, बैंकको ६ अर्ब ५० करोड लगानी जोखिममा


काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन अवस्थामा थिए ।बाढीका कारण जलविद्युत् आयोजना क्षतिग्रस्त भएपछि ती आयोजनामा बैंक तथा वित्तीय संस्थाले गरेको ठूलो कर्जा लगानीसमेत जोखिममा परेको छ । नेपाल बैंकर्स संघको प्रारम्भिक अध्ययनअनुसार वाणिज्य बैंकहरूको ऋण लगानी रहेका चार वटा जलविद्युत् आयोजना बाढीबाट क्षतिग्रस्त भएका छन् । ती आयोजनामा बैंकहरूले गरेको करिब ६ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्रत्यक्ष जोखिममा परेको छ ।

बाढीबाट क्षतिग्रस्त लाङटाङ खोला जलविद्युत् आयोजनामा बैंकहरूले करिब साढे दुई अर्ब रुपैयाँ लगानी गरेका छन् । २० मेगावाट क्षमताको उक्त आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा विभिन्न बैंकहरूको संयुक्त कर्जा लगानी रहेको छ ।त्यस्तै, नुवाकोटको ३७ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ । उक्त आयोजनामा नबिल बैंकको ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी रहेको छ । नबिल बैंककै लगानी रहेको रसुवागढी हाइड्रोपावर आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको छ । उक्त आयोजनामा नबिल बैंकको ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।यसैगरी, रसुवाको ५ मेगावाट क्षमताको मैलुङ खोला हाइड्रोपावर आयोजनामा पनि बाढीबाट क्षति पुगेको छ । उक्त आयोजनामा एनएमबी बैंकको नेतृत्वमा २५ करोड ८० लाख रुपैयाँ बराबरको संयुक्त कर्जा लगानी रहेको छ ।

नेपाल राष्ट्र बैंकले कुल कर्जा लगानीको कम्तीमा १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरूले जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा कर्जा विस्तार गर्दै आएका छन् । तर, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण आयोजना क्षतिग्रस्त हुँदा बैंकहरूको ठूलो कर्जा लगानीसमेत जोखिममा पर्न थालेको छ । पछिल्लो घटनाले जलविद्युत् क्षेत्रमा बढ्दो बैंकिङ लगानीसँगै प्राकृतिक विपत्तिबाट उत्पन्न हुने वित्तीय जोखिम व्यवस्थापनलाई समेत गम्भीर रूपमा लिनुपर्ने देखाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार