रसुवा। भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल, पदमार्ग तथा बजार क्षेत्रमा ठूलो क्षति पुर्याएपछि रसुवाको स्याफ्रुबेँशी र त्यसपछिको उत्तरी क्षेत्रसँग सडक सम्पर्क टुटेको छ। मुख्य सडकबाट वैकल्पिक मार्ग प्रयोग गरी सानो भार्खुसम्म पुग्न सकिए पनि त्यसपछि उत्तरी क्षेत्रतर्फको यात्रा निकै कठिन बनेको छ। बाढीले सडक संरचना नै बगाएपछि स्याफ्रुबेँशीतर्फको नियमित सडक यातायात पूर्ण रूपमा प्रभावित भएको हो। हिजोसम्म सवारीसाधन गुड्ने सडकमा अहिले ढुङ्गा, माटो र बाढीले बनाएको नयाँ धार देखिन्छ भने कतिपय स्थानमा सडकको नामोनिसानसमेत छैन। बाढीले यातायातको बाटो मात्रै बगाएको छैन, पैदल आवतजावत गर्ने पदमार्गसमेत मेटाइदिएको छ। स्याफ्रुबेँशी बजार आसपास पनि बाढीको प्रभाव स्पष्ट देखिन्छ। सडक तथा पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दा र यात्रुले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सडक सम्पर्क अवरुद्ध हुँदा उत्तरी रसुवाका बासिन्दाको दैनिक आवतजावतसँगै अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।