काठमाडौं । १० भदौमा रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको भोटेकोशी नदीको प्रलयकारी बाढीले तल्लो भेगसम्म आइपुग्दा कम्तीमा ४१ वटा मोटरेबल पुलमा क्षति पुर्याएको छ भने ३५ वटा पुल पूर्णरूपमा बगाएको छ । बाढीका कारण रसुवाको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । जिल्लामा मात्रै करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त हुँदा रसुवा सडक सम्पर्कबाट विच्छेद भएको छ । वैकल्पिक सडक सञ्चालनमा रहे पनि प्रभावकारी हुन सकेको छैन । त्रिशूली पारिको नुवाकोटसमेत प्रत्यक्ष सडक सुविधाबाट प्रभावित भएको छ ।
८५ किलोमिटर लामो गल्छी–रसुवागढी सडकखण्डमा मात्रै तीन दर्जन पुल निर्माण भएका थिए । पूर्वसचिव केशव शर्माका अनुसार बस्तीपिच्छे कमजोर तयारीका पुल निर्माण गर्नुको सट्टा निश्चित दूरीमा रणनीतिक र बलिया पुल निर्माण गर्नुपर्ने पाठ बाढीले दिएको छ । उनका अनुसार अब पूर्वाधार विकासलाई जिल्ला वा स्थानीय तहको राजनीतिक सीमाभन्दा माथि उठाएर सिंगो नदी बेसिनको भूगोलका आधारमा योजनाबद्ध गर्न आवश्यक छ । थोरै दूरीमा धेरै पुल निर्माण गर्नुको सट्टा नदीको बेग थेग्न सक्ने, जलवायु अनुकूल र रणनीतिक महत्त्वका पुल निर्माण गरी तिनलाई बस्तीहरूसँग जोड्ने सडक सञ्जाल विकास गर्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले पनि विद्यमान पुल निर्माण मापदण्ड परिवर्तन गर्नुपर्ने स्पष्ट सन्देश भोटेकोशी बाढीले दिएको बताएका छन् । उनका अनुसार अहिलेसम्मका पुल निर्माणमा पानीको बहावलाई मुख्य आधार मानिए पनि हिमाली क्षेत्रमा आउने बाढीमा पानीसँगै ठूलो मात्रामा ढुंगा, गेग्रान, माटो, रूख तथा अन्य वस्तु बग्ने भएकाले परम्परागत डिजाइन पर्याप्त नहुने देखिएको छ । रसुवागढीस्थित मितेरी पुलदेखि मुग्लिनसम्मका पुलमध्ये मुग्लिनको आर्क ब्रिज तुलनात्मक रूपमा सुरक्षित रहनुले पनि फरक डिजाइन र संरचनाको महत्त्व देखाएको छ । हिमाली नदीको बाढीको चरित्र नै फरक हुने भएकाले पुलले पानीसँगै बग्ने गेग्रान र अन्य वस्तुको शक्तिलाई समेत थेग्न सक्ने गरी डिजाइन गर्नुपर्ने पोखरेलको भनाइ छ ।
सडक विभागका अनुसार भोटेकोशीमा आएको बाढीको स्तर विद्यमान कुनै पनि पुल निर्माण मापदण्डले परिकल्पना गरेकोभन्दा निकै ठूलो थियो । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार यति ठूलो बाढी कति सय वर्षपछि आएको हो भन्ने विषयमा अध्ययन आवश्यक छ । उनका अनुसार हालका संरचना यस स्तरको बाढी थेग्ने उद्देश्यले निर्माण गरिएका थिएनन् । बरु बाढीका बाबजुद केही पुल कसरी सुरक्षित रहे भन्ने विषयमा समेत अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बाढीले रणनीतिक महत्त्वका पुलमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता पनि देखाएको जैसीको भनाइ छ । जिल्ला सदरमुकाम जोड्ने प्रमुख राजमार्गका पुल तुलनात्मक रूपमा लामा, अग्ला र बढी जोखिम थेग्न सक्ने गरी निर्माण गर्नुपर्ने उनले बताएका छन् । जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपद्का घटना अन्य नदीमा पनि दोहोरिन सक्ने भएकाले आगामी दिनमा पुल निर्माणका मापदण्डलाई सोहीअनुसार परिमार्जन गर्नुपर्ने देखिएको छ ।
तत्काल सडक सञ्चालनमा ल्याउन सरकारले तीन स्थानमा बेलिब्रिज निर्माणको तयारी गरेको छ । देवीघाटस्थित त्रिशूली नदीमाथिको तादी खोला पुल बगेको स्थान, त्रिशूली बजारमा पुरानो पुल रहेको स्थान र नुवाकोट–रसुवा जोड्ने बेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ । यी तीन स्थानमा बेलिब्रिज सञ्चालनमा आएपछि मुख्य राजमार्ग सञ्चालनमा ल्याउन सहज हुने सडक विभागले जनाएको छ । त्यसपछि बाँकी पुल प्राविधिक अध्ययन र आवश्यकताका आधारमा स्थायी संरचनाका रूपमा निर्माण गरिनेछ ।
पूर्वसचिव शर्मा भने नदी आसपास र भिरालो भूभागमा पूर्वाधार निर्माण गर्दा एउटै क्षेत्रको प्राविधिक मापदण्डमा मात्र निर्भर हुन नहुने बताउँछन् ।