• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

अस्ट्रेलियामा विद्युतीय गाडीको बिक्रीले बनायो नयाँ कीर्तिमान, चिनियाँ ब्रान्डको दबदबा

अस्ट्रेलियामा विद्युतीय गाडीको बिक्रीले बनायो नयाँ कीर्तिमान, चिनियाँ ब्रान्डको दबदबा

काठमाडौं । अस्ट्रेलियामा चिनियाँ गाडीहरूको बढ्दो लोकप्रियतासँगै विद्युतीय सवारी साधन (ईभी) को बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज (एफसीएआई) का अनुसार, अगस्ट २०२६ मा अस्ट्रेलियामा बिक्री भएका कुल नयाँ सवारी साधनमध्ये ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ। यसअघि गत जुनमा यस्तो हिस्सा २३.३ प्रतिशत रहेको थियो। बढ्दो इन्धन मूल्यका कारण गत मेमा पहिलोपटक विद्युतीय सवारीको बजार हिस्सा २० प्रतिशत नाघेको थियो। त्यसयता लगातार चौथो महिनासम्म ईभीको बिक्री २० प्रतिशतभन्दा माथि रहन सफल भएको छ। एफसीएआईका अनुसार, सन् २०२५ को अगस्टको तुलनामा यस वर्षको सोही महिनामा ईभीको समग्र बिक्री १७१ प्रतिशतले बढेको छ।

अस्ट्रेलियाको अटो बजारमा चिनियाँ ब्रान्डहरूको प्रभावसमेत तीव्र रूपमा बढिरहेको छ। अगस्टमा सबैभन्दा बढी बिक्री हुने १० सवारी ब्रान्डमध्ये पाँचवटा चिनियाँ कम्पनी परेका छन्। बीवाईडी, जिडब्ल्यूएम, एमजी, गिली र चेरीले बजारमा आफ्नो उपस्थिति बलियो बनाएका हुन्। चिनियाँ ब्रान्ड बीवाईडीले अगस्टमा ८ हजार २३१ वटा नयाँ गाडी बिक्री गर्दै जापानी ब्रान्ड टोयोटापछि दोस्रो स्थान हासिल गरेको छ। सन् २०२५ को अगस्टमा बीवाईडीले ४ हजार ८७७ वटा गाडी बिक्री गरेको थियो।

त्यस्तै, चिनियाँ ब्रान्ड गिलीले पनि अस्ट्रेलियाली बजारमा उल्लेखनीय वृद्धि गरेको छ। गिलीले अगस्ट २०२६ मा ४ हजार ५०४ वटा गाडी बिक्री गरेको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यसको बिक्री ४०१ वटा मात्र थियो। यससँगै गिलीको बिक्री एक वर्षमै एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।सन् २०२६ को पहिलो आठ महिनाको तथ्याङ्क हेर्दा बीवाईडीले अस्ट्रेलियामा कुल ६८ हजार ४२३ वटा गाडी बिक्री गरिसकेको छ। यो सन् २०२५ को सोही अवधिमा बिक्री भएको ३२ हजार ८३९ गाडीको तुलनामा १०८ प्रतिशत बढी हो। ईभीको बढ्दो लोकप्रियता र चिनियाँ ब्रान्डहरूको तीव्र विस्तारले अस्ट्रेलियाको सवारी बजारमा उल्लेखनीय संरचनात्मक परिवर्तन भइरहेको देखाएको छ। एफसीएआईका प्रमुख कार्यकारी टोनी वेबरले पनि अस्ट्रेलियाको सवारी बजारमा महत्वपूर्ण संरचनात्मक परिवर्तन भइरहेको बताएका छन्।

सिन्ह्वाको सहयोगमा

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार