काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री–‘ए’ जलविद्युत् परियोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको छ। प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई उद्धार टोलीले आज बिहान पावरहाउस पुग्ने सुरुङबाट जीवितै उद्धार गरेको हो। त्रिशुली थ्री–‘ए’ परियोजना प्रमुख आवास ओझाका अनुसार उनीहरूलाई पावरहाउस जाने बाटोमा भेटेर उद्धार गरिएको हो भने उद्धार टोली अझै पावरहाउससम्म पुग्न बाँकी छ। सुरुङभित्र अँध्यारो भएकाले उनीहरूलाई पावरहाउसबाट कति दूरीमा उद्धार गरिएको हो भन्ने यकिन हुन सकेको छैन।
६० मेगावाट क्षमताको त्रिशुली थ्री–‘ए’ जलविद्युत् आयोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको समयमा उक्त घटना भएको हो। नेपाल विद्युत् प्राधिकरणले सुरुङभित्रको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरेको छ। तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको अनुमान गरिएको छ। उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र रहेका सबैजना जीवित रहेको जानकारी दिए पनि त्यहाँ कति जना छन् भन्ने यकिन हुन नसकेको आयोजना प्रमुख ओझाले बताएका छन्। उद्धार टोलीले अहिले बाँकी कर्मचारीको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।