• २०८३ भाद्र १९ गते शुक्रवार
  • Preeti To Unicode

गृहमन्त्रीलाई महरको आग्रह : ‘भाइरल बन्ने होइन, टनेलमा फसेका नागरिकको जीवन बचाउन कमाण्ड सम्हाल्नुस्’

गृहमन्त्रीलाई महरको आग्रह : ‘भाइरल बन्ने होइन, टनेलमा फसेका नागरिकको जीवन बचाउन कमाण्ड सम्हाल्नुस्’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुने गतिविधिभन्दा टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन्। बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सुरक्षित रूपमा हेलिकोप्टरतर्फ लैजाँदै गर्दा गृहमन्त्रीले स्लाइन बोकेर भिडियो खिचेको विषयप्रति लक्षित गर्दै महरले यस्तो टिप्पणी गरेका हुन्। महरले गृहमन्त्रीले उद्धार अभियानको प्रत्यक्ष कमाण्ड सम्हाल्दै सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताएका छन्। अझै अन्य टनेलमा नागरिक फसेको भए उनीहरूको उद्धारका लागि तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ। ‘गृहमन्त्रीज्यू! प्लिज तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ महरले भनेका छन्।

उनले फसेका नागरिकको जीवन रक्षाका लागि आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत सरकार पछि हट्न नहुने बताएका छन्। सम्बन्धित आयोजनाका प्राविधिक तथा निर्माणकर्तासँग तत्काल छलफल गरी उपलब्ध सबै स्रोत–साधन परिचालन गर्नुपर्ने उनको सुझाव छ।राहत कोषमा अर्बौं रुपैयाँ मौज्दात रहेको उल्लेख गर्दै महरले आवश्यक विज्ञ तथा प्राविधिक ल्याएर उद्धार कार्यलाई तीव्रता दिनुपर्ने बताएका छन्।टनेलभित्र फसेका नागरिकको जीवन रक्षाका लागि एक–एक सेकेन्ड महत्त्वपूर्ण रहेको भन्दै महरले उपलब्ध जनशक्ति र स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेका छन्। उनका अनुसार गृहमन्त्रीले उद्धारस्थलमा अक्सिजन सिलिण्डर बोक्नुभन्दा उद्धार अभियानको नेतृत्व, व्यवस्थापन र समन्वयमा ध्यान दिनुपर्छ।‘तपाईंको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन। तपाईंले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ महरले भनेका छन्। सिलिण्डर बोक्ने काम उद्धारमा खटिएका सुरक्षाकर्मीले गर्न सक्ने भन्दै उनले त्यसका लागि गृहमन्त्री स्वयं आवश्यक नपर्ने टिप्पणी गरेका छन्।

उद्धारस्थलबाट आफूलाई हट्न आग्रह गरिएको विगतको घटनासमेत स्मरण गराउँदै महरले गृहमन्त्रीलाई आफ्नो भूमिकाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। ‘तपाईं यहाँबाट गइदिनुहोस् भनेर सेनाले अस्ति मात्रै भनेको किन बिर्सिनुभयो?’ भन्दै उनले प्रश्न गरेका छन्।गृहमन्त्री स्वयं सामाजिक सञ्जालमा चर्चामा आउने व्यक्ति भएकाले उद्धारस्थलमा ‘स्टन्ट’ गर्न आवश्यक नरहेको महरको टिप्पणी छ। उनले गृहमन्त्रीले व्यक्तिगत रूपमा उद्धारमा संलग्न भएको देखिनुभन्दा राज्यका सबै संयन्त्रलाई एकीकृत गरी टनेलमा फसेका नागरिकको सकुशल उद्धारमा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार