• २०८३ भाद्र १९ गते शुक्रवार
  • Preeti To Unicode

थाइल्यान्डद्वारा नेपालका बाढीपीडितलाई ७० लाख थाई भाट सहयोग

थाइल्यान्डद्वारा नेपालका बाढीपीडितलाई ७० लाख थाई भाट सहयोग

बैंकक। नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट नगदसहित आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। नेपालको प्राथमिकता र आवश्यकताका आधारमा थाइल्यान्डले उक्त मानवीय सहायता प्रदान गरेको हो।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आज प्रधानमन्त्री कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहायता हस्तान्तरण गरेका छन्। कार्यक्रममा राजदूत ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट समयमै उपलब्ध गराइएको मानवीय सहयोगका लागि थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

राजदूत ओलीले थाइल्यान्डको यो उदार सहयोगले नेपाल र थाइल्यान्डबीचको दीर्घकालीन मित्रता, एकजुटता र घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गरेको बताए। थाइल्यान्ड सरकारले उपलब्ध गराएको नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने राहत सामग्रीहरू यथाशीघ्र नेपाल पठाइने जनाइएको छ।थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आगामी दिनमा पनि नेपालको आवश्यकता र प्राथमिकताका आधारमा सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार