रसुवा। नेपाली सेनाको नेतृत्वमा खटिएको खोज तथा उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ। नुवाकोटको सिम्ले क्षेत्रमा जारी खोज तथा उद्धार कार्यका क्रममा विदेशी विज्ञसहितको विशेष टोलीले सुरुङभित्रबाट शव निकालेको स्थानीयवासी शेषनाथ भट्टराईले जानकारी दिए। उनका अनुसार सोही आयोजनाका दुई कर्मचारीलाई आज बिहान जीवितै उद्धार गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका साथै चिनियाँ र अमेरिकी विज्ञ सम्मिलित उद्धार टोलीले सुरुङभित्र थप खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको हो।
यसैबीच, रसुवाका बाढी प्रभावित क्षेत्रमा मौसम पूर्ण रूपमा सफा नभए पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण गर्ने काम तीव्र पारिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार प्रतिकूल मौसमका बाबजुद प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्याउने कार्य जारी छ।