काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। बाढीमा परी सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि आफन्तसँग सम्पर्क हुन नसकेको र शवसमेत फेला नपरेपछि उनीहरूले कुशको शवको प्रतिमा बनाएर सामूहिक रूपमा दाहसंस्कार गरेका हुन्।
बेपत्ता भएकाहरूका आफन्तले शुक्रबार पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। उनीहरूको पीडालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले निःशुल्क रूपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ।
रसुवामा आएको बाढीमा परी १ हजार २ सय ९० जनाको शव फेला परेको जनाइएको छ। अझै ५ हजारभन्दा बढी नागरिक सम्पर्कविहीन रहेको बताइएको छ। हालसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ।
सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा खोज तथा उद्धार कार्य जारी राखेको छ। लामो समयदेखि बेपत्ता रहेका आफन्तको अवस्था अझै अज्ञात हुँदा परिवारजन गहिरो शोक र पीडामा छन्।