बाढीले त्रिशूली करिडोरका सडक र पुलमा ठूलो क्षति, बेलिब्रिज जडान तीव्र

बाढीले त्रिशूली करिडोरका सडक र पुलमा ठूलो क्षति, बेलिब्रिज जडान तीव्र

चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी तथा आसपासका क्षेत्रमा सडक र पुलमा ठूलो क्षति पुगेपछि सरकारले आपत्कालीन पुनर्निर्माणलाई तीव्रता दिएको छ। सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक तथा ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने प्रारम्भिक अनुमानअनुसार करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन नयाँ ट्रयाक खोल्ने र क्षतिग्रस्त पुलको स्थानमा बेलिब्रिज तथा एक्रो ब्रिज जडान गर्ने कामलाई प्राथमिकता दिइएको छ।

नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि नेपाली सेनाले ६० मिटर लामो एक्रो ब्रिज जडानको काम सुरु गरेको छ। पुलको सिभिल संरचना निर्माण सडक विभागले गरिरहेको छ भने प्राविधिक जडानको जिम्मेवारी सेनाले सम्हालेको छ। त्यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि करिब ४८ मिटर लम्बाइका बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। यी तीन स्थानमा अस्थायी पुल जडान भएपछि गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक क्रमशः सञ्चालनमा ल्याउने सरकारको योजना छ।

रसुवाको स्याफ्रुबेँसीमा करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक देखिएको छ। सडक विभाग र नेपाली सेनासँग पुल उपलब्ध भए पनि क्षतिग्रस्त सडकका कारण सामग्री घटनास्थलसम्म पुर्‍याउन समस्या भइरहेको छ। चीन सरकारले कोराला नाकामा बेलिब्रिजका सामग्री उपलब्ध गराएको र आवश्यकताअनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानमा प्रयोग गर्ने तयारी गरिएको विभागले जनाएको छ।

बाढीले पुरानो सडकमा तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान थुपारेपछि तत्काल सडक सञ्चालन गर्न वैकल्पिक ट्रयाक खोल्ने प्रयास भइरहेको छ। तर विदुर नगरपालिका–१० मा स्थानीयले मुआब्जाको माग गर्दै काममा अवरोध गरेका छन्। विवाद समाधान भए दुई दिनभित्र बेत्रावतीसम्म अस्थायी सडक जोड्ने विभागको योजना छ। यस्तै पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। २५२ मिटर ट्रयाक खनिसकिएको र केही दिनको मर्मतपछि सवारी सञ्चालनमा ल्याउने तयारी छ। धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि सडक मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार