काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ८६३ जना स्वदेशी पुरुष, ५७५ जना स्वदेशी महिला, २६९ जना विदेशी पुरुष, ३३२ जना विदेशी महिला तथा पाँच जना अन्य छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। यसैगरी, मृतक १ हजार २८६ जना तथा मृतकका आफन्त १ हजार १८६ जना गरी २ हजार ४७२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डीएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए। भोटेकोशी बाढीबाट ठूलो मानवीय क्षति भएको भन्दै बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्।