काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ। सडक अवरुद्ध हुँदा काठमाडौंमा ग्यासको नियमित ढुवानी प्रभावित हुन सक्ने अवस्था देखिएपछि नेपाल आयल निगम लिमिटेडले तराईका विभिन्न ग्यास उद्योगमार्फत सिलिन्डर रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था गरेको हो। निगमका अनुसार काठमाडौंमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू तराईका विभिन्न उद्योगमा पठाएर रिफिल गरिएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर उपभोक्तामाझ बिक्री वितरण भइरहेको छ।निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा रहेका १६ वटा विभिन्न ग्यास उद्योगमा काठमाडौंका उद्योगका सिलिन्डर रिफिल गरिएको छ। यसरी रिफिल गरिएका सिलिन्डरहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गरी काठमाडौं ल्याइएको हो। सडक अवरोधका कारण नियमित आपूर्ति प्रभावित भए पनि उपभोक्तालाई ग्यासको अभाव हुन नदिन निगमले वैकल्पिक व्यवस्थालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
भदौ १८ गते मात्रै २४ हजार ४९४ वटा ग्यास सिलिन्डर रिफिल गरी काठमाडौं भित्र्याइएको थियो। त्यस्तै, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर रिफिल गरिएको थियो भने भदौ २० गते थप २९ हजार २४९ सिलिन्डर रिफिल गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ। यसरी तीन दिनको अवधिमा मात्रै कुल ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिन्डर रिफिल गरेर काठमाडौं भित्र्याइएको छ। निगमले यो व्यवस्थाले सडक अवरुद्ध भए पनि काठमाडौंमा ग्यासको नियमित आपूर्ति कायम राख्न सहयोग पुगेको जनाएको छ।वैकल्पिक व्यवस्थामार्फत काठमाडौंमा विभिन्न ब्रान्डका एलपी ग्यास आपूर्ति भइरहेको छ। निगमका अनुसार श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास सिलिन्डर रिफिल गरी काठमाडौंमा बिक्री वितरणका लागि पठाइएको छ। विभिन्न जिल्लामा रहेका ग्यास उद्योगलाई प्रयोग गरेर आपूर्ति व्यवस्थालाई निरन्तरता दिइएकाले तत्काल काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिने निगमको भनाइ छ।
पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं जोड्ने मुख्य सडकमार्ग प्रभावित भएको हो। सडक पूर्ण रूपमा मर्मत भई नियमित सञ्चालनमा नआउँदासम्म ग्यासको ढुवानीमा समस्या आउन सक्ने भएकाले निगमले वैकल्पिक प्रक्रियाबाट आपूर्ति जारी राख्ने तयारी गरेको छ। निगमले कृष्णभिर खण्डको सडक मर्मत भई नियमित सञ्चालनमा नआउञ्जेलसम्म तराईका उद्योगमा सिलिन्डर रिफिल गर्ने र वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने प्रक्रिया निरन्तर सञ्चालन गरिने जनाएको छ। यसबाट सडक अवरोधका कारण काठमाडौंमा एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण प्रभावित हुन नदिने निगमको लक्ष्य छ।