बाढीपीडितको उद्धार र राहतमा राजनीतिक दल सक्रिय

बाढीपीडितको उद्धार र राहतमा राजनीतिक दल सक्रिय

काठमाडौं। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि देश शोकमा डुबेको छ। विपद्पछि सरकार तथा सरकारी संयन्त्रसँगै प्रमुख राजनीतिक दल, विभिन्न संघ–संस्था र सहयोगी मनहरू प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सक्रिय भएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि भग्नावशेष हटाउने र पूर्वाधार पुनर्निर्माणको तयारीसम्मका काम अघि बढिरहेका छन्।

नेकपा एमालेले बाढीपीडितको जीवनरक्षा, राहत सामग्री संकलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि सहयोग समिति गठन गरी जनसंगठनका स्वयंसेवक परिचालन गरेको जनाएको छ। एमालेले पहिलो चरणमा प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा रहेको समितिले रसुवा, नुवाकोट र धादिङमा नेता–कार्यकर्तालाई परिचालन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत धादिङ र नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै नागरिकसँग आवश्यकताबारे जानकारी लिएका छन्। पार्टीका अनुसार स्वयंसेवक टोलीले भग्नावशेष हटाउने, हिलो सफा गर्ने तथा म्याट्रेस, त्रिपाल, कम्बल र खाद्यान्नलगायत राहत सामग्री वितरण गरिरहेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सरकारसँग समन्वय गरी खोज, उद्धार र राहतको कामलाई तीव्रता दिएको जनाएको छ। पार्टीले डा. गंगालाल तुलाधरको नेतृत्वमा खोज, उद्धार तथा राहत परिचालन समन्वय समिति गठन गर्नुका साथै जिल्ला र पालिकास्तरमा समेत समन्वय समिति बनाएर जनशक्ति परिचालन गरेको छ। नेकपाको जनवर्गीय संगठन वाईसीएल नेपालका करिब ६ सय स्वयंसेवक बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र प्रभावित परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन परिचालित रहेको जनाइएको छ। पार्टीले उद्धार र राहतपछि पुनर्स्थापनाको कामलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ।नेपाली कांग्रेसले पनि आफ्ना भ्रातृ तथा शुभेच्छुक संगठनलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। तरुण दल, नेपाल विद्यार्थी संघ र ट्रेड युनियनका कार्यकर्ताले सरसफाइ तथा राहत वितरणको काम गरिरहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार