रसुवा । भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीले रसुवागढी क्षेत्रका सडक, पुल तथा सरकारी कार्यालयलगायतका भौतिक संरचना ध्वस्त बनाएपछि चीनको केरुङमा भण्डारण गरिएका ४०० भन्दा बढी कन्टेनरका व्यापारिक सामान वैकल्पिक सडकमार्ग हुँदै कोरला नाकाबाट नेपाल ल्याउन थालिएको छ। हिमपहिरोसहित ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवागढीस्थित सडकमार्गमा ठूलो क्षति पुगेपछि केरुङका गोदाममा रहेका सामान नेपाल ल्याउन वैकल्पिक मार्ग प्रयोग गर्न थालिएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ।
मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार रसुवागढी हुँदै काठमाडौँ जोड्ने सडकमार्ग सञ्चालनमा आउन समय लाग्ने देखिएपछि कोरला नाका प्रयोग गरी सामान ढुवानी गर्ने काम तीव्र पारिएको हो। “नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रूपमा भइरहेको थियो,” उनले भने, “रसुवागढीको सडकमार्ग सञ्चालनमा आउन समय लाग्ने देखिएपछि अहिले कोरला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम धमाधम भइरहेको छ।”
बाढीका कारण रसुवागढी–त्रिशूली सडकखण्डमा सामान बोकेर आएका कैयौँ कन्टेनरसमेत बगाउँदा जनधनको क्षति भएको छ। यसले चीनबाट नेपालतर्फ हुने नियमित व्यापारिक ढुवानी प्रभावित बनेको छ। नेपाली व्यापारी तथा व्यवसायीले चिनियाँ उत्पादक कम्पनीबाट खरिद गरेका सामान नेपाल ल्याउने क्रममा सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने जिम्मेवारी आफूहरूले पूरा गर्दै आएको ज्याङले बताए।आफ्ना मुस्लिम समुदायका बाउबाजे काठमाडौँको बागबजारबाट व्यापार–व्यवसायका सिलसिलामा तिब्बततर्फ गएको जानकारी दिँदै ज्याङले अहिले ‘मुसा ट्रान्सपोर्ट’मार्फत चीनको सिगात्से सहरबाट नेपालको सीमावर्ती नाकासम्म सामान ढुवानीको कारोबार गर्दै आएको बताए। उनका अनुसार रसुवागढी नाका तत्काल सहज रूपमा सञ्चालन हुन नसक्ने अवस्था आएपछि चिनियाँ गोदाममा थन्किएका नेपाली व्यापारीका सामान वैकल्पिक नाकाबाट नेपाल भित्र्याउने प्रयास भइरहेको छ।