वैज्ञानिक प्रमाणसहित जलवायु मुद्दा उठाउन प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव

वैज्ञानिक प्रमाणसहित जलवायु मुद्दा उठाउन प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’मा सीमित नगर्न आग्रह गरेका हुन्।

थापाले विदेश भ्रमणको तयारी गर्दा प्रधानमन्त्रीले आफ्नै सचिवालयमा मात्र निर्भर नभई विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग व्यापक परामर्श गर्नुपर्ने बताए। नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या र प्राकृतिक विपत्तिका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको विषय वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष लैजानुपर्नेमा जोड दिए। ‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ उनले भने।थापाले नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा कडा लबिङ गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार