भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालको एक वर्ष निःशुल्क उपचार

भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालको एक वर्ष निःशुल्क उपचार

बनेपा । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले प्रभावित परिवारको स्वास्थ्य समस्या र उपचारमा लाग्ने आर्थिक भारलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको हो। अस्पतालका अनुसार निःशुल्क उपचार सेवाबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै आर्थिक भारसमेत कम हुनेछ। सेवा लिन आवश्यक प्रक्रिया, कागजात तथा अन्य विवरण छिट्टै सार्वजनिक गरिने अस्पतालले जनाएको छ। बाढीपछि प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने तयारीसमेत गरेको छ। अस्पतालले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै स्वास्थ्य, पुनःस्थापना तथा पुनःनिर्माणका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार