धादिङ । भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले जनही रु ४० हजार राहत उपलब्ध गराउन थालेको छ । नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त तथा परिवारजनको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । भोटेकोशीको बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना नागरिक प्रभावित भएको प्रारम्भिक विवरण छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन रहेका छन् । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरिसकेका छन् । सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।