काठमाडौं । भोटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोट जिल्लाबाट संकलित १६१ शव काठमाडौं ल्याइएको छ। तीमध्ये २३ वटा शवको मात्र पहिचान भई आफन्तले बुझेका छन्। पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा व्यवस्थापन संरक्षण गर्ने तयारी भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।पहिचान हुन नसकेका शवको पोस्टमार्टम तथा डीएनए नमुना संकलन गर्ने काम आइतबारदेखि नै सुरु गरिएको थियो। सोमबार बिहान १० बजेसम्म ५० वटा शव व्यवस्थापनका लागि तयार भइसकेका छन्।बाँकी शवको पनि दिनभर पोस्टमार्टम गरी डीएनए नमुना सुरक्षित गरेपछि व्यवस्थापन गरिने एसपी थापाले बताए।
काठमाडौं ल्याइएका शवहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका छन्। अस्पतालमा शव दाबी गर्न आफन्त तथा अन्य दावीकर्ताको भीड लागेको छ। दावीकर्तालाई शव हेर्न दिने र आफन्तको शव भएको प्रमाणित भएपछि जिम्मा लगाउने प्रक्रिया पनि सँगसँगै भइरहेको प्रहरीले जनाएको छ।यसअघि काठमाडौं ल्याइएका ८५ वटा शवलाई आईसीआरसी प्रोटोकलअनुसार सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा ती शव व्यवस्थापन गरिएको हो।
शवको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा कसैले आफन्तको शव भएको दाबी गरेमा दावीकर्ताको पनि डीएनए नमुना लिएर परीक्षण गरिने व्यवस्था छ।दावीकर्ता र शवको डीएनए नमुना मेल खाएमा व्यवस्थापन गरिएका शव उत्खनन गरी आफन्तलाई बुझाउन सकिने एसपी थापाले बताए। व्यवस्थापन गरिएका शवलाई नगल्ने गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ। थप पहिचान हुन नसकेका शवलाई पनि सोही वन क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ।