जलविद्युत् आयोजनाका टनेलमा १२१ जना प्रवेश गरेको तथ्य, खोजी कार्य जारी

जलविद्युत् आयोजनाका टनेलमा १२१ जना प्रवेश गरेको तथ्य, खोजी कार्य जारी

काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा १२१ जना प्रवेश गरेको तथ्य देखिएको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले खोज तथा उद्धार रोक्न निर्देशन नदिएसम्म टनेलमा खोजी कार्य जारी रहने बताए।

थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ११ वटा जलविद्युत् आयोजनासँग करिब २ हजार २०० जना व्यक्ति आबद्ध भए पनि तीमध्ये सबै टनेलभित्र प्रवेश गरेका भने होइनन्। टनेलभित्र प्रवेश गरेको तथ्यांकअनुसार १२१ जना मात्रै रहेको उनले स्पष्ट पारे।यसैबीच, रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको छ। सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनअनुसार विपद्सँग सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्दै खोज तथा उद्धार भइरहेको जानकारी दिए।

बस्नेतका अनुसार बाढीपछि नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता छन्। उद्धार कार्यलाई प्रभावकारी बनाउन विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग समेत सहकार्य भइरहेको उनले बताए।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरे। अहिले हेलिकप्टरलाई खोज तथा उद्धार कार्यमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पुर्‍याउनुपर्ने केही स्थानमा भने राहत लैजान नसकिएको उनले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार